देश

आजको राष्ट्रियसभामा दुई विधेयक पारित गरियो

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं । राष्ट्रियसभामा स्टान्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले उक्त प्रतिवेदन सभामा सभामुख समक्ष पेश गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राखिएको प्रस्तावलाई सभाको सर्वसहमति मै अनुमोदन गरियो।

यसअघिको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

शोक प्रस्ताव

राष्ट्रियसभामा पूर्व प्रतिनिधिसभाका सदस्य अकबर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो ।

उनको निधनप्रति सभामा एक मिनेट मौन धारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो ।
राष्ट्रियसभाको अर्को बैठक अब यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने निर्णय गरिएको छ ।

कमेन्टहरु