प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

रासस
२०८२ कार्तिक १ | मध्यान्ह ०४:०७ बजे

काठमाडौँ, कात्तिक १ । ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।
नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिनुभयो ।
स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ ।
“बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्छ”, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।”























