घरघरमै पुगे व्यापारी, बढ्यो फूलको मूल्य


भक्तपुर, कात्तिक १ । यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ । घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो ।भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन् ।
गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजबाट घरदैलोमा आएका व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मै मखमली फूलको माला लिन थालेको र बजारमा प्रतिमाला रु ८० देखि रु ९० मा बिक्री गर्न थालेको बताउनुभयो । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उहाँले गुनासो गर्नुभयो ।
चाँगुनारायण–९ का स्थानीय पुष्प कृषकले रु ३० मा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन् । भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिक रूपमा फूल तथा माला बिक्री गर्दै आउनुभएको छ । यसपटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उहाँले बताउनुभयो ।
स्थाननीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले रु एक लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा रु पाँच करोडभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ ।
स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो साडे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाख आम्दानी गरेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो ।
सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वाङ्को रु सात सयसम्म बिक्री गरेको र बजारमा भने किलोमा रु चार सयदेखि पाँच सयमा बिक्री हुने गरेको बस्नेतले बताउनुभयो ।
यहाँका कृषकले एकैघरबाट रु ३० हजारदेखि तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा र मखमली फूलको माला रु ७० मा बिक्री भइरहेको बताउनुभयो । फूलको मूल्य भोलीबाट अझै बढेर आउने उहाँले बताउनुभयो ।
यसवर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो । उहाँले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताउनुभयो ।























