बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाइयो


काठमाडौँ । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिए ।
खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान सुरु भएको छैँटाै दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन् । यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन् ।
पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्यस्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरू, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदैछ ।























