स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँः राष्ट्रपति पौडेल


काठमाडौँ, कात्तिक १। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको छ ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पार्नुभएको थियो । उहाँहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताउनुभएको थियो ।
छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।























