कार्तिक कृष्ण त्रयोदशी : नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै


काठमाडौँ, कात्तिक १ । कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ ।सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ । यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् । केहीले भने आजै बेलुकी धनतेरस पूजा गर्छन् । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदै छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिनुभयो । आज धनका अधिपति देवताका रूपमा पूजिने कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधना गरिन्छ । केहीले कुबेरको आज र केहीले लक्ष्मीपूजाकै दिन पूजाआराधना गर्छन् ।
दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रूपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धनवन्तरी जयन्ती पनि आइतबार नै मनाइन्छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइनुका साथै यमदीपदानसमेत सुरु गरिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।























