देश

सरकारको भनाई : मेलम्ची खानेपानी आयोजना अब अनिश्चित भयो

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएकाले मेलम्ची खानेपानी अब आयोजना अनिश्चित भएको सरकारले बताएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्रमा बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरिएकाले आयोजना अनिश्चित भएको बताएकी हुन् ।

असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी विकास समितिको निष्कर्ष थियो, “सडक विभाग र नेपाली सेनाको साथ सहयोग पाएमा माघ-फागुनसम्म फेरि काठमाडौंमा पानी ल्याउन सकिन्छ ।” असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि झन लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको हो ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने आश थियो,’ खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’ उनका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाका आधारमा विज्ञ टोलीले मेलम्ची आयोजनामा पनि समस्या पर्न सक्ने बताएका छन् ।

बाढीले आयोजनाको सुरुङमार्ग जोगिए पनि बाँधसहितका बाहिरी संरचनाहरु सबै ढुंगा, गिट्टी, बालुवा र बगरले पुरिएका छन् । आयोजनाको संरचनामाथि नै खोला बगिरहेको छ । पछिल्लो पटकको बाढीले तत्काल आयोजना स्थलमा गएर काम गर्न नसकिने देखिएपछि सरकार नै आयोजनाको भविष्य अन्योलमा देखिएको हो ।

‘२१ वर्षदेखि प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने यकीन छैन’ सचिव बज्राचार्यले भनिन्, ‘आयोजना भन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक (एडिबी)लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ ।’ उनले मेलम्ची आयोजना अनिश्चित भए पनि जसरी पनि बचाउनुपर्ने बताइन् ।

कमेन्टहरु