जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट


पर्वत, कात्तिक १। गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष विसं २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँको अनुुसार आर्थिक वर्ष विसं २०८१/०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो । गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।


















