सीले थाले सेनाभित्र ‘ठूलो सफाइ’ अभियान: भ्रष्टाचारको आरोपमा दुई शीर्ष अधिकारीसहित सात बर्खास्त


चीनले शुक्रवार दुई शीर्ष सैन्य अधिकारीसहित सात अधिकारीलाई बर्खास्त गरेको छ। ती अधिकारीहरूमा जनरल हे वेइडोङ र नौसेना एडमिरल मियाओ पनि समावेश छन्। भ्रष्टाचारको आरोपमा उनीहरूलाई कम्युनिस्ट पार्टी र सेनाबाट निष्कासन गरिएको हो। यो २०२३ मा सुरु भएको राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान अन्तर्गतको सबैभन्दा ठूलो कारबाही हो।
हे वेइडोङ चीनको केन्द्रीय सैन्य आयोग (सीएमसी) का उपाध्यक्ष थिए, जुन जनमुक्ति सेना (पीएलए) मा दोस्रो सर्वोच्च पद हो। राष्ट्रपति सीको नेतृत्वमा यो आयोगले सेनाको सर्वोच्च कमान्ड राख्छ। उनी मार्च २०२५ देखि सार्वजनिक रूपमा देखिएका थिएनन्। पूर्व नौसेना एडमिरल तथा सेनाका शीर्ष राजनीतिक अधिकारी एडमिरल मियाओलाई जुनमा सीएमसीबाट हटाइएको थियो र नोभेम्बर २०२३ देखि उनीमाथि अनुसन्धान भइरहेको छ।
हे वेइडोङलाई सी जिनपिङको नजिकको सहयोगी मानिन्छ। दुवैले १९९० को दशकमा फुजियान र झेजियाङ प्रान्तमा सँगै काम गरेका थिए। उनलाई २०२२ मा सिधै सीएमसीको उपाध्यक्षको पदमा नियुक्त गरिएको थियो। जनरल मियाओलाई सी जिनपिङले व्यक्तिगत रूपमा छनोट गरेका थिए।
जनरल मियाओ चीनको केन्द्रीय सैन्य आयोग (सीएमसी) का सदस्य र यसको राजनीतिक कार्य विभागका निर्देशक थिए। उनीमाथि नोभेम्बर २०२३ देखि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको थियो। मियाओ चिनियाँ सेनामा कम्युनिस्ट पार्टीको विचारधाराको व्यवस्थापनको जिम्मेवारीमा थिए।
निष्कासित अन्य पाँच जना अधिकारीमा हे होङजुन (पूर्व वरिष्ठ पीएलए अधिकारी), वाङ सिउबिन (सीएमसी संयुक्त सञ्चालन कमाण्ड केन्द्र) र लिन सियानग्याङ (पूर्व पूर्वी थिएटर कमाण्डर) रहेका छन्। त्यस्तै पीएलए र नौसेनाका दुई पूर्व राजनीतिक अधिकारीहरू छन्। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
चिनियाँ विश्लेषकहरूले यो कारबाही राष्ट्रपति सीले सेना र पार्टीमा भ्रष्टाचार कम गर्न थालेको अभियानको एक हिस्सा भएको बताएका छन्। ‘सी जिनपिङले स्पष्ट रूपमा पार्टीलाई सफा गर्दै हुनुहुन्छ। अब उनलाई केन्द्रीय सैन्य आयोगमा नयाँ नियुक्तिहरू गर्न अनुमति मिल्नेछ, जुन मार्चदेखि आधा खाली छ,’ एट्लान्टिक काउन्सिलको ग्लोबल चाइना हबका विज्ञ वेन–टी सुङले भने।
यो घोषणा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो बैठक हुनुभन्दा केही दिन अगाडि आएको हो। जानकारी अनुसार सो बैठकले यससँग सम्बन्धित थप निर्णयहरू लिनेछ।यसअघि चीनले भ्रष्टाचार विरोधी कार्यक्रमको एक भागको रूपमा दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाएको थियो। नौसेना प्रमुख उपएडमिरल ली हान्जुन र चाइना नेशनल न्यूक्लियर कर्पोरेसनका उपप्रमुख इन्जिनियर लिउ शिपेङ हटाइएका थिए।
भ्रष्टाचारका कारण यी अधिकारीहरूमाथि कारबाही गरिएको हो। चीनलाई भ्रष्टाचारले आफ्नो सेनालाई कमजोर बनाइरहेको डर छ। त्यसैले २०२३ देखि सेनामा भ्रष्टाचार विरोधी अभियान चलिरहेको छ। यस अभियान अन्तर्गत धेरै अधिकारीहरूलाई हटाइएका छन्।
राष्ट्रपति बनेदेखि नै सीले सेना भित्रको भ्रष्टाचार नियन्त्रण गर्न काम गरिरहेका छन्। २०२४ मा चीनका रक्षामन्त्री डोङ जुन पनि भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको थियो। उनीमाथि पनि अनुसन्धान भएको थियो। यसअघि दुई पूर्व रक्षामन्त्रीहरू, ली शाङ्फु र वेई फेङ्हेलाई पदबाट हटाइएको थियो।
सीको लक्ष्य सेनाभित्र कम्युनिस्ट पार्टीप्रति वफादारी सुनिश्चित गर्नु र यसलाई विश्वव्यापी महाशक्ति बनाउनु हो। विज्ञहरूका नजरमा यो कारबाही भ्रष्टाचारलाई जरैदेखि उखेलेर सीको शक्तिलाई अझ सुदृढ गर्ने अभियानको एक हिस्सा हो। चीनले आफ्नो सेनालाई निरन्तर आधुनिकीकरण गरिरहेको छ। चीन अमेरिकापछि दोस्रो ठूलो सैन्य खर्च गर्ने देश हो।























