देश

पूर्वी चितवनको खैरहनी नगरपालिकामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजस्व संकलन

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०३:०४ बजे

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए। गतवर्ष जम्मा रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा एक प्रतिशत बढी हो ।

यस नगरपालिकाले सबैभन्दा धेरै घरजग्गाको रजिष्ट्रेशनबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट मात्रै रु तीन करोड ९७ लाख २९ हजार सङ्कलन भएको हो । त्यस्तै अन्य संस्थागत आन्तरिक अनुदानबाट रु दुई करोड ९१ लाख २६ हजार, घर बहाल करबाट रु दुई करोड ३२ लाख, एकीकृत सम्पत्ती करबाट रु एक करोड ८० लाख ७१ हजार सङ्कलन भएको नगर प्रमुख चौधरीले बताए ।

यसैगरी अन्य दस्तुरबाट रु एक करोड १३ लाख ५७ हजार, सिफारिस दस्तुरबाट रु ७६ लाख ५० हजार, नक्शापास दस्तुरबाट रु ३३ लाख ६२ हजार, भूमिकर/मालपोतबाट रु १२ लाख ८२ हजार, पर्यटन शुल्कबाट रु एक लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । खैरहनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।

नगर प्रमुख चौधरीका अनुसार जनप्रतिनिधि निर्वाचित भएको वर्ष रु एक करोड मात्र आन्तरिक स्रोतबाट राजस्व सङ्कलन भएको थियो । जब उद्योग, व्यवसायलाई करको दायरामा ल्याइयो विस्तारै राजस्व सङ्कलनमा पनि वृद्धि हुदै गएको हो ।

चौधरीले भने, ‘स्थानीय तहलाई आफ्नै आम्दानीबाट खर्च गर्न सक्ने बनाउनुपर्छ । अन्य स्रोतबाट कम राजस्व प्राप्त भएमा आफ्नै आम्दानीले खर्च गर्न सकिन्छ ।’ राजस्व सङ्कलन वृद्धि हुनुमा उद्योगी, व्यवसायी, नगरवासी, राजनीतिक दललगायत सबैको सहयोग रहेको हुन्छ।

कमेन्टहरु