देश

पोखराबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०३:०४ बजे

कास्की । पोखराबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन्। पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १२ अमरसिंहचोकमा बसोबास गर्दै आएका सोही महानगरपालिका १० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ र सोही महानगरपालिका २७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ रहेका छन् ।

उनीहरुले राम्रो काममा लगाईदिन्छु भन्दै सोझासाझा महिलाहरुलाई डरत्रास देखाई, ललाई फकाई गरेर प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त खाजाघरबाट पीडित महिलाहरुलाई मनोपरामर्श गरी प्रहरीले आफन्तको जिम्मा लगाई सकेको बताएको छ । उनीहरुमाथि मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु