अर्थ

बैरेनीमा ठूलो जग्गा एकीकरण : १६ सय रोपनीमा व्यवस्थित बस्ती निर्माण

रासस
२०८२ अशोज ३१ | मध्यान्ह ०२:०६ बजे

व्यास नगरपालिकाले वडा नं १० बैरेनीमा ‘बैरेनी जग्गा एकीकरण आयोजना’ चलाएको छ।दमौली बजारमा अव्यवस्थित बसोबास बढेपछि व्यवस्थित बस्ती बनाउन यो आयोजना सुरु गरिएको हो। नेपाल सरकारबाट अध्ययन र अवलोकनको प्रक्रिया अघि बढाइसकेको आयोजना प्रमुख इन्जिनियर रविन्द्र मुलले बताए।

उनले भने, ‘बाटो र पूर्वाधार भएकाहरुको हकमा ६ प्रतिशत र नभएकाहरुको हकमा ३० प्रतिशत कट्टा गरी जग्गाधनीलाई जग्गा फिर्ता गरिनेछ, जग्गा घटे पनि जग्गाधनीले तीन गुणा बढी मुनाफा पाउनेछन्।’नगरपालिकाले बैरेनीमा २६२ रोपनीमा एकीकृत बस्ती विस्तारको काम गरिरहेको छ। यो आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको र फेरि ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाको परिकल्पना गरिएको नगरपालिकाले जनाएको छ।

विसं २०८२ भित्र जग्गाधनीलाई स्थायी विकसित घडेरीको पुर्जा बाँड्ने लक्ष्यसहित निर्माण अघि बढाइएको इन्जिनियर मुलले बताए।विसं २०७९ मंसिर १४ मा सम्झौता भएको र २०८५ सम्म ऋण सम्झौता रहेकामा तीन वर्षअगावै सम्पन्न गर्ने लक्ष्य छ। उनले भने, ‘जमिनमुनिको कठिनाइको काम सकियो, अबको छ महिनाभित्र घडेरी छुट्याउने काम सम्पन्न हुनेछ।’

उनका अनुसार अब नाला निर्माण, कालोपत्रे, विद्युत खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान र दुई विद्युत ट्रान्समिटर जडान बाँकी छ। ट्रान्समिटर जडानका लागि विद्युत प्राधिकरणसँग समन्वय भइरहेको छ।कुल १३ करोड रुपैयाँमध्ये कोषले ९ करोड १० लाख ५० हजार ४०० र नगरपालिका तथा गण्डकी प्रदेशको ४ करोड लगानी छ।

नगर विकास कोषबाट लिएको ऋण तिर्ने अवधि ६ वर्षको छ भने वार्षिक ब्याजदर ८ प्रतिशत छ। दमौलीमा बस्ती साँघुरिंदै गएकाले दीर्घकालीन सोचसहित नगरपालिका अघि बढेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।उनले भने, ‘दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ। भावी पुस्ताका लागि बस्ती बसाउन नगर विकास कोषसँग सहकार्य गर्दै अघि बढेका छौं, जसले बस्ती विस्तारमा सहज हुने विश्वास छ।’ 

कमेन्टहरु