जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन


टोकियो । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चात्ताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिएका थिए ।
उनी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री भए । उनको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो । सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आयो र त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा दर्जनौँ नागरिकको मृत्यु र करिब पाँच हजार ८०० जना घाइते भएका थिए ।
मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमा पनि जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राखेका थिए । सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उनी जापानी शाही सेनामा भर्ती भएका थिए । सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उनले सेनामा बिताएको समयबारे स्मरण गर्दै भनेका थिए, ‘सेना भनेको डरलाग्दो कुरा थियो । त्यहाँ विद्रोह वा तर्क गर्न पूर्ण रूपमा निषेध गरिएको थियो ।’
उनले युद्धको अन्त्यतिरको कठोर अवस्थाको पनि सम्झना गरे, ‘त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए । हामीसँग बाँसबाट बनेका हतियार मात्र बाँकी थिए । यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ ।’
जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा एक यस्ता नेता रहे जसले नम्रता, आत्मआलोचना र मानवताको पक्षमा आफ्नो दृढता देखाएका थिए । उनको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ ।























