बिश्व

ट्रम्प-पुटिनबिच दुई घण्टा वार्ता: युक्रेनलाई मिसाइल दिने चर्चा, अमेरिका भ्रमणमा जेलेन्स्की

एजेन्सी
२०८२ अशोज ३१ | बिहान ०९:०६ बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन्। कुराकानी करिब २ घण्टा चलेको थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्की हाल अमेरिकाको भ्रमणमा छन्, जहाँ उनले थप सैन्य सहायता माग्न सक्छन्।  ‘पुटिनसँगको कुराकानी अद्भूत रह्यो। उनले मध्यपूर्वमा शान्ति ल्याएकोमा मलाई र संयुक्त राज्य अमेरिकालाई बधाई दिए,’ ट्रम्पले आफ्नो ट्रुथआउट सामाजिक पोस्टमा लेखे। पुटिनले यो लामो समयदेखिको सपना भएको बताए। ट्रम्पले मध्य पूर्वको सफलताले रुस–युक्रेन युद्ध रोक्न मद्दत विश्वास लिएका छन्।

कुराकानीमा पुटिनले मेलानिया ट्रम्पको प्रशंसा गर्दै भने, ‘उनले बालबालिकाका लागि ठूलो काम गरिरहेकी छन्।’ दुवैले युद्धपछि रुस र संयुक्त राज्य अमेरिकाबिचको व्यापारबारे पनि छलफल गरे।  कुराकानीपछि ट्रम्प र पुटिनले अर्को हप्ता आफ्ना शीर्ष अधिकारीहरूको बैठक तय गरेका हुन्। अमेरिकी पक्षको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्नेछन्। बैठकको स्थान अझै तय भएको छैन।  

त्यसपछि ट्रम्प र पुटिनले रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गर्न हंगेरीको बुडापेस्टमा भेट्नेछन्।  जेलेन्स्कीले ट्रम्पसँग उन्नत हतियार माग्ने अपेक्षा गरिएको छ, जसमा लामो दूरीका टोमाहक मिसाइल पनि छ। सो मिसाइलले मस्को र अन्य प्रमुख रुसी सहरलाई युक्रेनी आक्रमणको दायरामा ल्याउन सक्छ। ट्रम्पले संकेत गरेका छन् कि यदि पुटिन वार्तामा आएनन् भने यी हतियारको आपूर्ति स्वीकृत गर्न सकिन्छ।

टोमाहक मिसाइलले युक्रेनका सैन्य अड्डा, वायु रक्षा प्रणाली र रसद केन्द्रलाई लक्षित गर्न सक्छ। यी मिसाइलको दूरी युक्रेनका हालका एटीएसीएमएस मिसाइल (३०० किलोमिटर दायरा) भन्दा धेरै छ। तर तिनलाई सञ्चालन गर्न विशेष लन्चर र तालिम चाहिन्छ। अमेरिकासँग केही पुराना टोमाहक लन्चर छन्, जुन युक्रेनले प्रयोग गर्न सक्छ।

मिडिया रिपोर्टअनुसार ट्रम्प सुरुमा युक्रेनलाई लामो दूरीका मिसाइल दिने कुराको विरोधमा थिए। तर पुटिनले शान्ति वार्तामा सहभागी हुन अस्वीकार गरेपछि उनी रिसाएका हुन्। युक्रेनलाई सिधै टोमाहक आपूर्ति गर्नुको सट्टा अमेरिकाले पहिला नेटो देशलाई बेच्ने अनि युक्रेनमा पुर्‍याउन सक्छ।  

रुसले यसको विरोध गरिसकेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हालै भनेका थिए, ‘यी मिसाइलले युद्ध भूमिमा ठूलो परिवर्तन ल्याउने छैनन्। तर अमेरिका वा युक्रेनले आफ्नो लक्ष्य निर्धारण गर्ने कि नगर्ने भन्ने प्रश्न बाँकी छ।’ 

यो छलफल रुसले युक्रेनी ऊर्जा सुविधामा नयाँ आक्रमण सुरु गरेको बेला भएको हो। जेलेन्स्कीले भनेका छन्, ‘बिहीबार राति मात्र रुसले ३०० भन्दा बढी ड्रोन र ३७ मिसाइल प्रहार गरेको छ।’ यो जाडोमा रुसले ग्यास पूर्वाधारलाई लक्षित गर्दै आक्रमण बढाएको छ। युद्ध चौथो वर्षमा प्रवेश गर्दा ऊर्जा प्रणालीमाथिको आक्रमण बढेको छ।  

बारम्बार युद्ध अन्त्य गर्ने वाचा गरेका ट्रम्प पुटिनको निरन्तर आक्रमणबाट रिसाएका छन्।

कमेन्टहरु