जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा


चितवन, असोज ३०। जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् ।
नेपालमा १५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गर्दछन् । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने सङ्घका बागमती प्रदेश अध्यक्ष बिडारीले जानकारी दिनुभयो । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञहरू बताउँछन् ।
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् । ‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँमा परेको वर्षात्सँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम बासस्थानका रूपमा लिइन्छ । निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।























