चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

रासस
२०८२ अशोज ३० | मध्यान्ह ०२:०६ बजे

चितवन, असोज ३०। जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो ।
एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गर्नुभयो । उहाँका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । उहाँले भन्नुभयो, “जिल्लामा तीन लाख माला आवश्यक पर्छ । त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस् ।”
प्रमुख जिल्ला अधिकारी अर्यालले आयातित फूलमाला रोक्न व्यावसायीको सक्रियता आवश्यक रहेको बताउनुभयो । आयातित फूल र माला रोक्न र प्रतिबन्धित वस्तु बिक्रीवितरण गरेमा कारबाही गर्न स्थानीय प्रशासन तयार रहेको उहाँको भनाइ छ ।


















