एमाले नेतृ कोमल ओलीको गृहमन्त्रीलाई प्रश्न : भारतकाे कम्फर्टेबल बन्न खोजेको त होइन ?


काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल ओलीले दार्चुलामा महाकाली नदि तर्ने क्रममा भारतीय एसएसबीले तुइनको डोरी काट्दा नेपाली युवाको ज्यान गएको घटनामा सरकारमाथि प्रश्न उठाएकी छन् ।
सांसद ओलीले आजको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणमाथि प्रश्न गर्दै दार्चुला घटनामा सरकारले छानबिन समिति मात्रै बनाएर नहुने भन्दै उक्त घटनाको विषयमा नेपाल सरकारले नै भारत सरकारसँग गम्भीर भएर वार्ता गर्नुपर्ने बताएकी हुन् ।
सांसद ओलीले उक्त घटना मानवता विरोधी भएको भन्दै नेपाली युवा जयसिंह धामीको निधनबारे छानबिन मात्रै गर्ने नभई उक्त घटनामा संलग्न रहेका सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने माग गरेकी छन् । उनले सरकारले के काम गरिरहेको छ, किन मौन छ ? भन्दै प्रश्न गरिन् ।
एसएसबीले तुइन काटेको घटना अमानवीय र आपराधिक मात्रै नभएर नेपाललाई भारतको हेपाइ भएको भन्दै ओलीले सरकारले त्यस विषयमा छानबिन समिति बनाएर मौन रहेर भारत को कम्फर्टेबल बन्न खोजेको त होइन भन्दै प्रश्न गरिन् ।






















