देश

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न दलका ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०१:०४ बजे

बुटवल । लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसंग माग गरेका छन् ।

paper

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेतृ तारा जिसीले एकल मतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका हुन् ।

गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमाथि छलफल हुनु अगावै प्रदेशसभाको अधिवेशन अन्त्य गरी आफूले पनि राजीनामा दिए र एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष निवेदन पेश गरेका थिए ।

त्यसपछि तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको प्रधानमन्त्री नियुक्त गरेका हुन । विपक्षी दलहरुले त्यतिबेला नै एकल बहुमतको मुख्यमन्त्री नियुक्ति नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभूत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरीत रहेको जिकिर गरेका थिए ।

विपक्षी दलहरुले प्रदेशसभाबाट बजेट पारित गराउनुपर्नेमा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउनुले पनि सरकार अल्पमतमा रहेको पुष्टि भएको दावी गरेका छन् । लुम्बिनी प्रदेश सभामा हाल कायम रहेका ८० जना प्रदेश सभा सदस्यमध्ये सत्तारुढ नेकपा एमालेसँग जम्मा ३८ सांसदमात्र रहेका छन् ।

कमेन्टहरु