भारतमा महिलालाई मासिक तलबी महिनावारी बिदा : सरकारी र निजी क्षेत्रमा लागू


भारतको कर्नाटक राज्य सरकारले महिनावारी बिदा नीति स्वीकृत गरेको छ। जसअनुसार सरकारी र निजी क्षेत्रका महिला कर्मचारीले प्रत्येक महिना एक दिन तलबी महिनावारी बिदा पाउने छन्।महिनावारी बिदा नीति २०२५ अन्तर्गत, महिलाले वर्षभरमा १२ दिन तलबी बिदा लिन सक्ने छन्।
बिहीबार यो घोषणा मुख्यमन्त्री सिद्दारमैयाले सामाजिक सञ्जालमा गरेका हुन्। उनले भनेका छन्, ‘महिनावारी बिदा नीति २०२५ अन्तर्गत, कर्नाटकभरिका महिला कर्मचारीहरूले अब प्रत्येक महिना एक तलबी बिदा पाउनेछन् – यो अझ मानवीय, समझदार र समावेशी कार्यस्थलतर्फको एक कदम हो।’
यो नीति सरकारी कार्यालय, गार्मेन्ट कारखाना, बहुराष्ट्रिय कम्पनी, सूचना प्रविधि फर्म र निजी संस्थामा कार्यरत महिलालाई लागू हुनेछ। क्राइस्ट विश्वविद्यालयकी कानुन संकाय प्रमुख सपना एसको नेतृत्वमा रहेको १८ सदस्यीय समितिको सिफारिसमा आधारित रहेको छ।
समितिमा उद्योग, ट्रेड युनियन, सरकारी विभाग, चिकित्सक, स्त्री रोग विशेषज्ञ र सामाजिक तथा आर्थिक परिवर्तन संस्थान र क्राइस्ट विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए।























