पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते


स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीहरूले बुधबार बताएका छन् ।दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो । स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालका अनुसार, झडपमा १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ ।
स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले एएफपीलाई जानकारी दिँदै भने, ‘झडपमा ८० भन्दा बढी महिला र बालबालिका घाइते भएका छन् ।’
पाकिस्तानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर सुरक्षा स्रोतहरूले उनीहरूले कुर्रम जिल्लाबाट अफगान क्षेत्रलाई लक्षित गरेको जनाएको छ, जुन स्पिन बोल्दाकभन्दा उत्तरतर्फ पर्दछ ।यो हिंसात्मक घटना दुवै देशबिच हाल चलिरहेको कसिलो सम्बन्ध र आपसी आरोप–प्रत्यारोपको बीचमा भएको हो । इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिबान (टीटीपी) को आश्रय दिएको आरोप लगाउँदै आएको छ ।
झडपको सुरुवात शनिबार साँझ भएको थियो, जब काबुलले सीमा क्षेत्रमा पर्ने कम्तीमा पाँच प्रान्तमा सैन्य कारबाही सुरु गरेको थियो ।तालिबानका अनुसार, बिहीबार काबुलमा भएको बम विस्फोटको जवाफस्वरूप पाकिस्तानले हवाई आक्रमण गरेपछि उनीहरूले प्रतिकारमा आक्रमण गरेका हुन् ।आइतबार इस्लामाबादले कडा कारबाही गर्ने चेतावनी दिएपछि दुवै पक्षबिच झडप चर्किएको हो, जसमा दुवैतर्फ ठुलो सङ्ख्यामा हताहती भएको छ ।























