सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल


काठमाडौँ, असोज २९। सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गर्नुभएको छ ।सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ–आफ्ना दलका तर्फबाट दृष्टिकोण र धारणा राख्नुभयो । छलफलमा सभामुख घिमिरेले अहिलेकोे परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन मुख्य सचेतक महेशकुमार बर्तौताले संसद् विघटनका सम्बन्धमा अदालतमा निवेदन परिसकेकाले त्यसको व्याख्याका सम्बन्धमा सर्वोच्च अदालतले आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जेनजी प्रदर्शनका क्रममा उठेका जायज माग संसद्मार्फत संशोधन गरेर भोलिका दिनमा ताजा जनादेशका माध्यमबाट मुलुकलाई अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले संसद् पुनःस्थापना गरेर राजनीतिलाई मूलधारमा ल्याउन सकिने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले सरकारले उपयुक्त वातावरण बनाएमा आफ्नो पार्टीले निर्वाचनमा जाने निर्णय गरेको जानकारी गराउनुुभयो । निर्वाचनले मात्रै वर्तमान राजनीतिलाई मूलधारमा ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी हुनुहुन्थ्यो ।























