राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओली


ललितपुर, असोज २९। नेकपा (एमाले)को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ ।जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।
यसअघि यही असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।
बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ । बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।























