कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ


काठमाडौँ, असोज २९। काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो ।
महानगरले विगत दुई दशकदेखि मेट्रिक ठेगाना प्रणाली लागू गरेको भए पनि उक्त प्रणालीलाई रुपान्तरण गर्दै एनएफसी प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ सुरु गरेको हो । उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो ।
यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोर्ड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ । जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुने वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
फोहर सङ्कलनको जानकारी दिन, कुनै तथ्याङ्क सङ्कलन गर्न, स्थानीयस्तरबाट कुनै सूचना प्रवाह गर्नुपर्नेलगायत अत्यावश्यक कामका लागि शीघ्र र न्यून लागतमा काम गर्न सकिने वडा कार्यालयले जनाएको छ ।
कामपा(२६ का वडासचिव केदार रिमालले उक्त प्रणाली जडान गरेसँगै वडाभित्र विपद् व्यवस्थापन तथा राजस्व सङ्कलन प्रभावकारी गर्न सकिनुका साथै वडास्तरीय योजना तर्जुमा गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त प्रणाली काठमाडौँ महानगरपालिका-२६ भित्रका छ हजार ८५० घरधुरीमा जडान हुनेछ । यो प्रणाली जडान गर्न रु ४५ लाख लाग्ने वडासचिव रिमालले जानकारी दिनुभयो । घर थपिएसँगै उक्त प्रणाली क्रमशः जडान गरिँदै लगिने वडा कार्यालयले जनाएको छ ।























