अपराध

युरिया र डिटर्जेन्ट मिलाएर बनिरहेको छ पनिर

एजेन्सी
२०८२ अशोज २९ | बिहान ११:०६ बजे

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा युरिया र डिटर्जेन्ट प्रयोग गरेर नक्कली पनिरको उत्पादन व्यापक रूपमा भइरहेको छ । पनिरलाई चम्किलो बनाउन टिनोपल र अला प्रयोग भएको पाइएको छ । यी सबै वस्तुले पनिरको विषाक्तता बढाइदिएको छ ।

राजस्थानबाट कारिगरहरूले यो पनिर बनाउने कला सिकाइरहेका भन्दै अमर उजालाले समाचार छापेको छ । भारतको खाद्य गुणस्तर नियन्त्रण गर्ने ‘खाद्य सुरक्षा तथा औषधि प्रशासन’ले यी कारिगरहरूलाई पक्राउ गर्न प्रहरीको सहयोग मागेको छ । यो पनिरको सेवनलले विभिन्न रोगहरू निम्त्याउने डाक्टरहरू बताउँछन् ।

एफएसडीएले पनिर, खुवा वा यसबाट बनाइएका मिठाईहरूको निरीक्षण गरिरहेको छ । निरीक्षण अभियान अक्टोबर ८ मा सुरु भएको थियो र अक्टोबर १७ सम्म जारी रहनेछ । यस अवधिमा लगभग डेढ करोड भारु बराबरको पनिर, खुवा र अन्य सामग्रीहरू नष्ट गरिएको छ । 

नोएडा, हापुर, मेरठ, आगरा, कानपुर, उन्नाव, लखनउ, बरेली र गोरखपुरलगायत विभिन्न जिल्लाहरूमा जफत गरिएको नक्कली पनिरबारे स्तब्ध पार्ने खालका तथ्यहरू बाहिर आएका छन् । दूधको सट्टा नक्कली पनिरमा पाम तेल, डिटर्जेन्ट, युरिया र कृत्रिम रसायनहरू मिसाइएको पाइएको छ ।
 
यी चिजले नक्कली पनिरको रंग अलि फिक्का हुन्छ यसको चमक बढाउन यसमा टिनोपल र अला पनि मिसाइएको पाइएको छ । टिनोपल कपडा चम्काउने वस्तु हो । यो एउटा रासायनिक यौगिक हो । यसले कपडाको सेतोपन बढाउने र यसलाई चम्किलो पार्ने काम गर्छ । आला पनि रासायनिक तत्त्व हो । 
 
यो सिन्थेटिक कपडाको सफा गर्न, धुन र ब्लीच गर्न प्रयोग गरिन्छ । यी दुवै स्वास्थ्यको लागि अत्यन्त हानिकारक मानिन्छ । नक्कली पनिर बनाउनेहरू विरुद्ध कडा कारबाही भइरहेको सहआयुक्त (खाद्य) हरिशंकर सिंहले बताए । पहिले पनि नक्कली पनिरका घटनाहरू रिपोर्ट गरिएका थिए, तर यस पटक चमक बढाउन टिनोपल र अला मिसाइएको घटनाहरू देखा परेको विभागका अधिकारीहरूले बताए ।

कसरी छुट्टाउने नक्कली र सक्कली पनिर ?

सक्कली चीज नरम, दुधको गन्ध भएको हुन्छ । यो पानीमा तैरिन्छ । तर नक्कली चीज कडा, रबर जस्तो हुन्छ । यसको गन्ध रासायनिक हुन्छ । पानीमा राख्दा यो डुब्छ । नक्कली चीज रबर जस्तो देखिन्छ र घोट्दा टाँसिन्छ । 

बल गरेर समाउँदा यो प्लास्टिक जस्तै उफ्रिन्छ । तातो पानीमा राख्दा, यो पग्लन र भाँचिन थाल्छ । सक्कली पनिरमा आयोडिन टिंचर हाल्दा यसको रंग परिवर्तन हुँदैन । स्टार्चको मात्राको कारण नक्कली पनिर भने नीलो वा कालो हुन्छ ।

कमेन्टहरु