देश

मोरङको धानखेतमा एक महिलाको शव फेला

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह १२:०४ बजे

मोरङ । मोरङमा धानखेतमा एक महिलाको शव फेला परेको छ । धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया खेतमा मृत अवस्थामा फेला परेको हो।

घरबाट लगभग ५० मिटर दूरीको रोपाइँ भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका हुन् ।

डीएसपी श्रेष्ठका अनुसार घरबाट निस्किएको केही बेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको हो । प्रहरीलाई जानकारी गर्नुअघि परिवारका सदस्य एवम् छिमेकीले उनको शव घटनास्थलबाट उठाएर घरमा ल्याई सकेका थिए ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइए पनि मृत्युको कारण भने अझै खुल्न सकिरहेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी श्रेष्ठले दिए ।

प्रहरीका अनुसार हाँस हराएपछि खोजी गर्ने क्रममा छिमेकीसँग उनको केहि विवाद भएको थियो । धान रोपिएको र पानी जमेको खेतमा शव भेटिएपछि जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ ।

जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरू ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाइ मुखिया र उनकी श्रीमती सती मुखिया रहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

कमेन्टहरु