अपराध

सिरहामा स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ

रासस
२०८२ अशोज २८ | बिहान ०७:०६ बजे

सिरहा । स्रोत नखुलेको आठ लाख २५ रुपैयाँ नगदसहित सिरहामा एकजनालाई पक्राउ गरिएको छ । नगद, विभिन्न बैंकका चेकबुक, एटीएम कार्ड र कपाली तमसुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–१, बनिनियाँ निवासी करिब ३० वर्षीय राशिन्द्र मण्डल छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, सिरहा नगरपालिका–२०, लगडिगदियानीस्थित प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले गएराति भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले मण्डलको साथबाट आठ लाख २५ हजार, दुई थान कपाली तमसुक, आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प, विभिन्न बैंकका पाँच थान एटीएम कार्ड र चेकबुक बरामद गरिएको जानकारी दिए । 

उनका अनुसार, मण्डल म प्र ०२–०१–००३ प २१०२ नं को मोटरसाइकलमा आइतबार राति करिब ९ बजे नेपाल प्रवेश गरेका थिए । शंका लागेर जाँच गर्दा स्रोत नखुलेको रकम र अन्य कागजात फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु