नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

रासस
२०८२ अशोज २६ | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ, असोज २६।नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ५० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्याङ्कन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ । नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।


















