देश

पश्चिम नवलपरासीमा कानून विपरित व्यवसाय गर्नेबाट साढे १० लाख बढी जरिवाना असुल

नवलपुर टुडे
२०७८ साउन १७ | मध्यान्ह ०९:०४ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा आर्थिक वर्ष २०७७/०७८ मा कानून विपरित व्यवसाय सञ्चालन गर्नेबाट १० लाख ५५ हजार जरिवाना वापतको रकम असुली गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र घरेलु तथा साना उद्योग कार्यालय परासीले गरेको संयुक्त अनुगमनको क्रममा करिव २ लाख बराबरका अबैध सामान नष्ट गरेको छ । नष्ट गरिएका सामानहरुमा म्याद नाघेका, लेबल नभएका, प्याकेजिङ्ग नभएको पाइएको उद्योग कार्यालयले जनाएको छ । अनुगमनको क्रममा एक प्रकृतिको उद्देश्य लिएर अर्को प्रकृतिको व्यवसाय गर्नेलाई कार्यवाही समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एव्ं निरिक्षण अधिकृत जोरासिंह माझीले बताउनुभयो ।

बजार अनुगमनको क्रममा व्यवसाय दर्ता नै नगरि व्यवसाय सञ्चालन गरेको पाइएको छ । सो क्रममा व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको उद्योग अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिनुभयो । सोही क्रममा १९ वटा व्यवसाय दर्ता भएको, ३५ वटा व्यवसायीले पूँजी बृद्धि गरेको, ३५ वटा व्यवसायीले आफ्नो व्यवसाय नविकरण गरेका छन् । यस्तै रामग्राम नगरपालिका–१० मा रहेको विष्णु जनरल स्टोर्सलाई ३ लाख जरिवाना गरिएकोमा तिर्न अटेर गर्दै आएको कार्यालयले जनाएको छ ।

उद्योग अधिकृत भुषालले उद्योगी तथा व्यवसायीहरुले कानून र विधिको परिपालना गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले बजार अनुगमनको क्रममा मूल्य सूची नराख्ने, साइनबोर्ड नराख्ने, खुद्रा पुँजी तथा उद्देश्य राखेर थोक व्यवसाय सञ्चालन गर्नेलाई कार्यवाहीको दायरामा ल्याइएको बताउनुभयो ।

यसैवीच आर्थिक वर्ष २०७७/०७८ मा कुल एक करोड ४३ लाख ८२ हजार ३७१ राजश्व असुली भएको घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

कमेन्टहरु