अमेरिकाको सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता


टेनेसी । शुक्रबार अमेरिकाको टेनेसीमा रहेको सैन्य विस्फोटक पदार्थ निर्माण गर्ने एक कारखानामा विस्फोट हुँदा कम्तीमा १९ जना मानिस बेपत्ता भएका छन्।हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसले यो ठुलो विस्फोटले कारखानालाई पूर्ण रूपमा ध्वस्त बनाएको बताएका छन्। उनले चार वा पाँच जनालाई नजिकैको अस्पतालमा लगिएको र केही व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।
नासभिलबाट करिब ९० किलोमिटर दक्षिण पश्चिममा पर्ने बक्सनोर्ट, टेनेसीमा रहेको यो कारखाना विस्फोटक पदार्थको विकास, निर्माण, ह्यान्डलिङ र भण्डारण मा विशेषज्ञता राख्छ। यो एक्युरेट एनरजेटिक सिस्टम्सको स्वामित्वमा छ। विस्फोटको कारण भने अझै स्पष्ट हुन सकेको छैन।
विस्फोट दुर्घटना वा जानाजान थियो भन्नेबारेमा डेभिसले कुनै जवाफ दिन अस्वीकार गरे। टेनेसीका गभर्नर बिल लीले सामाजिक सञ्जालमा यसलाई ‘दुःखद घटना’ भन्दै आफ्नो कार्यालयले अवस्थाको निगरानी गरिरहेको जानकारी दिए।























