प्रबास

भेनेजुएलाकी विपक्षी नेतृ माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान

एजेन्सी
२०८२ अशोज २४ | मध्यान्ह ०३:०६ बजे

काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार दिइने भएको छ । भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण हासिल गर्न उनी निरन्तर लड्दै आएकी छिन् ।

अधिनायकवादी शासनका कारण भेनेजुएलामा राजनीतिक गतिविधि अत्यन्तै कठिन भएको नोबेल पुरस्कार समितिले बताएको छ ।माचाडोले लोकतन्त्रको सुधारका लागि काम गर्ने संस्था सुमाते स्थापना गरेकी थिइन् । उनले देशमा स्वतन्त्र र निष्पक्ष चुनावको माग गर्दै आएकी छिन् । उनी यतिबेला लुकेर बसिरहेकी छिन् ।

आइरन लेडीको रूपमा पनि चिनिने माचाडोलाई टाइम पत्रिकाको २०२५ का १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि राखिएको थियो ।पुरस्कार घोषणा गर्दै नोबेल समितिका अध्यक्षले माचाडोलाई बढ्दो अन्धकारको बीचमा प्रजातन्त्रको ज्वाला बलिरहेको शान्तिको साहसी र प्रतिबद्ध समर्थक भनेर प्रशंसा गरेको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कयौँ महिनादेखि आफूलाई नोबेल शान्ति पुरस्कारका दाबेदार भनिरहेका थिए । तर नोबेल समितिले उनलाई पुरस्कारको लागि छनोट गरेन । विजेताले १ करोड १० लाख स्विडिस क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछिन् ।समितिले यस वर्ष घोषणा गरेका सबै पुरस्कार डिसेम्बर १० मा ओस्लोमा प्रदान गरिनेछ ।

 

कमेन्टहरु