पर्यटन

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

नवलपुर टुडे
२०८२ अशोज २४ | बिहान ०७:०६ बजे

ढोरपाटन। जलजला, नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने एक आकर्षक पर्यटकीय गन्तव्य हो। यो बागलुङ र म्याग्दी जिल्लाको सिमानामा छ। यहाँ पर्यटकहरूलाई नजिकैबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण लगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ। समुद्र सतहबाट यसको उचाइ ३,४०० मिटर छ। तर यस बर्ष भने पर्यटकको संख्या घट्दो क्रममा छ। यस वर्ष लामो समयसम्म वर्षा भएकाले पनि पर्यटकहरू यहाँ आइपुग्न नसकेका हुन्।

ढोरपाटन उपत्यकाबाट करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलासम्म पुग्ने बाटोमा पहिरो, खोला र ठूला जङ्घारहरू पार गर्नुपर्ने अवस्था छ। बर्खाले गर्दा गुरुघाट र गुर्जाघाट गरी तीन स्थानमा काठको साँघु (पुल) हाल्न सकिएको छैन। अघिल्लो वर्ष हालेको साँघु पनि खोलाले बगाएको थियो।

अघिल्लो वर्ष दसैँमै पर्यटकको घुइँचो लाग्ने जलजलामा यस वर्ष सडक नखुल्दा र साँघु नहुँदा पर्यटकहरू ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किन बाध्य भएका छन्। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार अब केही दिनमै सडक सफाइ गरी साँघु हाल्ने काम सुरु हुनेछ र तिहारसम्म पर्यटकहरू जलजला पुग्न सक्नेछन्।

सामाजिक सञ्जालमा देखेको हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्ने इच्छा पूरा हुन नसकेको पर्यटकहरूले गुनासो गर्ने गरेका छन्।

कमेन्टहरु