खेलाडीका नाममा हुलाक टिकट प्रकाशन


काठमाडौँ, असोज २३। हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाउनुभयो ।
खेलकुदको माध्यमबाट अन्तरराष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार रु १० दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो ।
नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुैदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । त्यसैगरी महिला क्रिकेटको उमेरसमुह अन्तरगत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।























