अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

रासस
२०८२ अशोज २३ | मध्यान्ह ०२:०६ बजे

तम्घास । नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । वि.सं २०७७ मा सदरमुकाम तम्घासमा ५० शय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् ।
भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् । ‘भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्’, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भने- ‘विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।’
सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत स्वच्छन्द÷बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो । भवनको कूल लागत रु २५ करोड ६४ लाख २०३ रुपैयाँ १७ पैसा छ । वि.सं २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो ।
पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इन्जिनियर सुशील रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिए ।























