दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार


काठमाडौँ, असोज २३। दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम रु दुई करोड १३ लाख ६४ हजार ६९२ व्यापार ९ग्रस कलेक्सन० गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ । उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएवापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ । यद्यपि व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैँको तुलनामा यसपटक चलचित्रहरूको व्यापार उत्साहजन हुनसकेको छैन ।























