बिश्व

छानबिन पूरा नभएसम्म म जेलमै बस्न तयार छु : सोनम वाङचुक

एजेन्सी
२०८२ अशोज १९ | मध्यान्ह ०४:०६ बजे

नयाँ दिल्ली । भारतका चर्चित वातावरण अभियन्ता सोनम वाङचुक यतिबेला राजस्थानको जोधपुर केन्द्रीय जेलमा छन् । शनिबार अक्टोबर ४ मा सोनम वाङचुकका दाजु त्सेतन दोर्जे र वकिल मुस्तफा हाजीले उनलाई जेलमा भेटेका थिए । 

यसक्रममा सोनम वाङचुकले लद्दाख र भारतका जनतालाई सन्देश पठाए । सन्देशमा उनले आफू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सबै मानिसले आफूप्रति व्यक्त गरेको चिन्ता र प्रार्थनाको लागि आभार व्यक्त गरेका थिए ।  

सन्देशमा वाङचुकले प्रदर्शनमा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते वा पक्राउ परेकाहरूका लागि प्रार्थना गरेको बताए । प्रदर्शनका क्रममा भएको चार सदस्यहरूको मृत्युको स्वतन्त्र न्यायिक छानबिन हुनुपर्ने र त्यो नभएसम्म आफू जेलमै बस्न तयार भएको पनि उनले बताए । 

आफू सर्वोच्च निकाय, केडीए र लद्दाखका जनताको संवैधानिक अधिकार– छैटौँ अनुसूची र राज्यको वास्तविक मागमा पूर्ण रूपमा उभिएको भन्दै सर्वोच्च निकायले लद्दाखको हितमा चाल्ने कुनै पनि कदमलाई हृदयदेखि समर्थन गर्ने पनि बताएका छन् । 

सेप्टेम्बर २४ मा लेहमा पूर्ण राज्यको दर्जा र लद्दाखको छैटौँ अनुसूचीमा समावेशको माग गर्दै हिंसात्मक विरोध प्रदर्शनहरू भएको थियो । आन्दोलनको नेतृत्व वाङचुङ र उनको वातावरण संस्थाको नेतृत्वमा भएको थियो । यस घटनापछि प्रहरीले वाङचुकलाई उनको गाउँ उलेटोकपोबाट पक्राउ गरेको थियो । 

कमेन्टहरु