सिन्धुपाल्चोकमा विज्ञ टोली आज प्रस्थान गर्दै, जल सतह मापनको उपकरण नहुँदा समस्या


काठमाडौं । सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।
खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो । केन्द्रका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो, टोली आजै त्यसतर्फ प्रस्थान गर्छ ।’
गएराति मेलम्चीमा आएको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको छ । मानवीय क्षति नभए पनि अघिल्लो पटकको बाढीमा बचेका भौतिक संरचनाहरु गएरातिको बाढीमा नष्ट भएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हेलम्बु क्षेत्रमा वर्षा हुने र त्यो सतर्कताको तहसम्म पुग्नसक्ने प्रक्षेपण गरेर त्यसअघि बुलेटिन जारी गरेको थियो । विभागको वर्षा मापन केन्द्रमा भने धेरै ठूलो पानी परेको रेकर्ड छैन ।
विभागका निर्देशक एवम् वरिष्ठ मौसमविद विक्रम श्रेष्ठका अनुसार गत चौबिस घण्टाको अवधिमा सेरमाथाङ भन्ने स्थानमा २०.८ मिलिमिटर र धाप भन्ने स्थानमा ३७.८ मिलिमिटर पानी परेको रेकर्ड छ । मुहान क्षेत्रतिर पहिरो गएको पनि देखिएको छ । तर जल तथा मौसम विज्ञान विभागमा नदी थुनिए/नथुनिएको अझै जानकारी भएको छैन ।
नाकोटे भन्ने स्थानमा जल सतह मापन गर्ने उपकरण थियो । गत असार १ गतेको बाढीले त्यो उपकरण पनि बगाइदिएपछि अर्को उपकरण जडान गरिएको छैन । त्यसैले जलसतह घट-बढ भएको र कुन तहसम्म पुगेको छ भन्ने तथ्यांक विभागसँग छैन । रासस






















