मेलम्चीमा फेरि आयो बाढी, स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारियो


काठमाण्डाै । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदीमा पानीको सतह बढ्न थालेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार हेलम्बुभन्दा माथि फेरि पहिरो गएको छ तर कुन ठाउँमा पहिरो गयो भन्नेबारे अझै यकिन भएको छैन । बाढी प्रभावित मेलम्चीका स्थानीय बासिन्दालाई भने सुरक्षित ठाउँमा सारिएको छ ।
हिजो बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि गएको असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । त्यतिबेला आएको बाढीका कारण मेलम्ची, हेलम्बु लगायत त्यस क्षेत्रमा ठूलो क्षति भएको छ ।
बाढीमा परेर बेपत्ता भएका १५ जना अझै भेटिएका छैनन् भने ५ जनाको ज्यान गएको थियो ।






















