प्रबास

पेरुमा राष्ट्रपतिविरुद्ध जेनजीको प्रदर्शन, १९ जना घाइते

एजेन्सी
२०८२ अशोज १३ | मध्यान्ह ०३:०६ बजे

लिमा/पेरु। पेरुको राजधानी लिमामा राष्ट्रपति डीना बोलुआर्टेको सरकार र कङ्ग्रेसविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा कम्तीमा १९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा एक जना प्रहरी अधिकारी र एक पत्रकार पनि सामेल छन् ।अधिकारीहरू र मानव अधिकार वकालत समूहहरूका अनुसार सप्ताहन्तभरि केन्द्रीय लिमामा भारी प्रहरी उपस्थितिका बिच सयौँ मानिसहरूले सरकारी कार्यालयहरूलाई लक्षित गर्दै मार्च गरेका थिए ।

प्रदर्शनका क्रममा युवाहरूको समूहले कानुन कार्यान्वयन गर्ने निकायका सुरक्षाकर्मीहरूमाथि ढुङ्गा, पेट्रोल बम र पटका प्रहार गरेका थिए । जवाफमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो ।राष्ट्रिय मानव अधिकार समन्वयकर्ताले आइतबार जारी गरेको प्रतिवेदनअनुसार झडपमा पत्रकारसहित १८ जना घाइते भएका छन् । राष्ट्रिय प्रहरीले भने शनिबार एक प्रहरी अधिकारी मोलोटोभ ककटेलबाट पहिलो श्रेणीको जलनका साथ घाइते भएको जानकारी दिएको छ ।

peru-genz44

तर, समन्वयकर्ताले हिंसाका लागि प्रहरीलाई दोषी ठहराएको छ । उनीहरूका वकिल मार पेरेजले भनेका छन्, ‘हामी प्रहरीलाई विरोध गर्ने अधिकारको सम्मान गर्न आह्वान गर्दछौँ । ठुलो मात्रामा अश्रुग्यास प्रहार गर्नु, झन् मानिसहरूलाई आक्रमण गर्नु कुनै पनि हिसाबले जायज थिएन ।’ 

भ्रष्टाचार र बेरोजगारी मुख्य मुद्दा

आइतबार राति भ्रष्टाचार र जबर्जस्ती असुलीविरुद्ध प्रदर्शन गरिरहेका यातायातकर्मी र जेनजी युवा समूहको जुलुसलाई पनि दर्जनौं प्रहरी अधिकारीहरूले अश्रुग्यास प्रयोग गरी तितरबितर पारेका थिए । २८ वर्षीया इन्जिनियर एड्रियाना फ्लोरेसले एएफपी समाचार एजेन्सीलाई बताइन्, ‘हामी भ्रष्टाचारको विरुद्धमा, जीवनको लागि, र हामीलाई हरेक दिन मारिरहेको अपराधको विरुद्धमा मार्च गरिरहेका छौँ ।’ 

सामाजिक अशान्ति बढ्नुको प्रमुख कारण बोलुआर्टे सरकारले सेप्टेम्बर ५ मा युवाहरूलाई निजी पेन्सन कोषमा योगदान गर्न अनिवार्य गर्ने कानुन ल्याउनु हो । पेरुमा ७० प्रतिशतभन्दा बढी अनौपचारिक रोजगारी दर रहेको अवस्थामा रोजगारीको अनिश्चितताबिच यो कानुन आएपछि युवाहरू थप आक्रोशित बनेका छन् ।

peru-gen

पेरुमा उठेको यो जेनजी पुस्ताको आवाजले हालै नेपालमा देखिएको युवाकेन्द्रित विरोध प्रदर्शनको झल्को दिन्छ ।

सुशासन, भ्रष्टाचारविरुद्ध र सुधारको माग गर्दै नेपालमा पनि युवाहरूले सामाजिक सञ्जालको प्रयोगमार्फत संगठित भएर स्वतःस्फूर्त प्रदर्शन गरेका थिए । खासगरी व्यवस्थापकीय कमजोरी र उच्च अपराधको विषयमा दुवै देशका युवाहरूले वर्तमान सरकारहरूविरुद्ध प्रदर्शनलाई तीव्र बनाए थिए । 

पेरुमा बोलुआर्टेको कार्यकाल सन् २०२६ को जुलाई २८ मा समाप्त हुँदै छ, तर उनको अनुमोदन दरमा पछिल्लो समय तीव्र गिरावट आएको छ । यसैगरी, धेरै जनमत सर्वेक्षणहरूका अनुसार भ्रष्टाचारको धारणाका कारण पेरुको रूढिवादी बहुमत भएको कङ्ग्रेसको अवस्था पनि नाजुक बनेको छ ।

पछिल्लो ६ महिनायता संगठित अपराध समूहबाट हुने जबरजस्ती असुली र हत्याका घटनाहरू बढेपछि पनि पेरुमा विरोध प्रदर्शनहरू चर्किएका छन् ।

peru-gen3preru-genz2

कमेन्टहरु