दसैँ बिदालाई सिर्जनात्मक बनाउँदै शिक्षक


कैलाली । वडादसैँको चहलपहल गाउँघर तथा सहर सबैतिर छाएको छ । विद्यालयमासमेत दसैँ तथा दिपावली गरी एक महिना बिदा छ । यतिबेला बिदाको समयलाई सदुपयोग गर्न शिक्षकहरु करेसाबारीमा काम गर्ने, लामो समयपछिका योजना गर्ने काममा व्यस्त देखिन्छन् । एक महिनाको लामो बिदालाई सदुपयोग गर्न र उत्पादनमूलक बनाउन कैलालीका शिक्षकहरु विभिन्न काममा व्यस्त देखिन्छन् । हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी एक महिनाको बिदामा करेशाबारीमा काम गर्ने, विभिन्न जीवनपयोगी पुस्तक पढेर समय बिताउने योजनामा छन् ।
‘अघिपछि भनेजस्तो समय पाइदैन, यो समय धानबाली स्याहार्ने र तरकारी रोप्ने समय हो, खेतबारीमा व्यस्त हुनेछु’, उनले भने, ‘त्यसबाहेक नयाँ पुस्तकहरु पढ्ने तयारी छ । साँझ बिहान अध्ययनका लागि समय छुट्याएको छु ।’’पद्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरी बिदालगत्तै विभिन्न तरकारीका बेर्ना उत्पादन गर्ने र बिक्री गर्ने काममा व्यस्त छन् । उहाँका बारीमा विभिन्न तरकारीका बेर्ना बारीभरि देख्न सकिन्छ । ‘मैले विगतदेखि नै तरकारीका बेर्ना उत्पादन र बिक्रीको काम गर्दै आएको छु’, उनले भने, ‘यो एक महिना मेरा लागि पर्याप्त समय हो ।
जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रधानाध्यपक रघुनाथ उपाध्याय पनि नियमित अभ्याससँगै करेसाबारी निर्माण गर्ने, विभिन्न हिउँदे तरकारी उत्पादन गर्ने योजनामा छन् । खाली समयलाई सही सदुपयोग र उत्पादनमूलक बनाउन अधिकांश शिक्षकहरु करेसाबारी निर्माण र तरकारी उत्पादनमा लाग्ने गरेका छन् । यसरी खाली समयलाई सही सदुपयोग गर्न सके व्यस्त हुनुका साथै अन्य विविध लाभ लिन सकिने टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थीको भनाइ छ ।























