पत्रकार महासंघ कास्कीमा अनिश्चितकालीन तालाबन्दी


पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
समाचार लेखेकै कारण पत्रकारलाई धम्की आउँदा महासंघ उल्टै पीडकलाई संरक्षण गर्न लागिपरेको भन्दै प्रेस चौतारी, कास्कीले शनिबार कार्यालयको गेटमा ताला लगाएको हो ।
पत्रकारलाई धम्की आउँदा अभिभावकत्व लिनुपर्नेमा आरोपित र महासंघ नेतृत्व एउटै राजनीतिक दलसँग सम्बन्धित भएकाले संरक्षणमा लागेको आरोप छ । यही विषयमा प्रेस चौतारी र महासंघ नेतृत्वबीच शनिबार दिउँसो कार्यालयमै चर्काचर्की परेको थियो ।
धम्की दिनेलाई कारबाही गर्न महासंघले अग्रसरता नलिँदासम्म ताला नखोलिने प्रेस चौतारी, कास्की संयोजक अर्जुन गिरीले बताए । कास्की शाखा भएकै भवनको तेस्रो तलामा महासंघको प्रदेश कमिटीको कार्यालय छ ।
के थियो समाचार ? भएको के हो ?
गत ६ साउनमा पोखराका दुई चल्तीका अनलाइन गण्डकन्यूज र पोखरा न्यूजले पोखरा ११ काहुँको कालिका माध्यमिक विद्यालयले फर्जी बिल बनाएर निशुल्क पाइने पुस्तक बेचिरहेको समाचार प्रकाशन गरेका थिए ।
यी दुवै अनलाइनका सम्पादक स्वयं विद्यालयमा पुगेका थिए । फिल्ड रिपोर्टिङ पश्चात् भिडियोसहित समाचार प्रकाशन भयो । समाचार प्रकाशन भएपछि प्रअ निर्मला मानन्धरको श्रीमान् हुँ भन्दै श्रीकृष्ण श्रेष्ठ नाम गरेका व्यक्तिबाट गण्डक न्यूजका पत्रकार रञ्जन अधिकारीलाई पटकपटक धम्कीपूर्ण फोन, म्यासेज आयो ।
श्रेष्ठले अधिकारीलाई आफूसँग भेट्न भनिरहे । विषयसँग सम्बन्धित व्यक्ति नै नभएकाले आफूले नभेटेको पत्रकार अधिकारी बताउँछन् । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले विद्यार्थीबाट उठाइएको पैसा तत्काल फिर्ता गर्न विद्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पत्रकारसँग रूष्ट बने ।
८ साउन मध्यरात यही घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भयो । आफूलाई पत्रकार बताउँदै विद्यालयकी प्रअ, विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई राखेर एक युवक दुई अनलाइनमा प्रकाशित समाचारको खण्डनमा उत्रिए । पत्रकार अधिकारीको नामै तोकेर दुई अनलाइनको समाचार खण्डन हेतुले ३१ मिनेटको भिडियो सामाग्री तयार पारी फेसबुकमा पोष्ट भयो ।
भिडियो बनाउने सफल सुवेदी नाम गरेका युवक कस्केली पत्रकारितामा परिचित होइनन् । आफ्नो मानहानी गरेको भन्दै पत्रकार अधिकारीले ती युवकलाई पटकपटक सम्पर्क गरेका थिए । उनी सम्पर्कमा आउन चाहेनन् ।
प्रेस काउन्सिलले पठाएको जानकारीपत्र अनुसार भिडियो हालिएको पेजको वेबसाइट दर्ता नभएको पुष्टि भएको छ । धम्की दिने श्रेष्ठसँग प्रहरी कार्यालयमा छलफल पनि भएको थियो । तर, छलफलबाट निस्किएपछि उक्त भिडियो साउन १० गते पुनः युट्युबमा सार्वजनिक गरियो । साइबर क्राइममा प्रक्रिया अघि बढेपछि साउन १० गते बेलुकी फेसबुक र युट्युबबाट भिडियो हटाइएको छ ।
मुख्यमन्त्रीको गाउँको हुँ भन्दै धम्की
प्रिन्सिपलका श्रीमान् श्रीकृष्ण श्रेष्ठ प्रहरीसँगको छलफलमा पनि प्रेस कार्ड नै झुण्डाएर पुगेका थिए । अधिकारी नजाँदै पत्रकार महासंघमा श्रेष्ठ पुगे । र, महासंघ नेतृत्वसँगै १० साउनमा प्रहरी कार्यालय छिरे ।
प्रहरी कार्यालयमा भएको छलफलमा कुरा मिलेन । अनलाइन पत्रकार हुँ भन्ने सफल सुवेदीले त्यही दिन युट्युबमा भिडियो ३१ मिनेटको भिडियो सार्वजनिक गरे । आफ्नो मिडिया अनधिकृत रहेको र कारबाही हुन सक्ने भएपछि सुवेदीले सोही रात भिडियो हटाए ।
प्रिन्सिपल मानन्धनरका श्रीमान् श्रेष्ठ भने शान्त भएनन् । सुरुबाटै मुख्यमन्त्रीको गाउँठाउँ नवलपुरको हुँ, तलदेखि माथिसम्म हाम्रै सरकार, हेरौंला के गर्दोरहेछ भन्ने गरेका छन् । श्रेष्ठलाई पत्रकार अधिकारीको उजुरीको आधारमा शनिबार बिहान नियन्त्रणमा लिइएको छ ।
घटनापछि श्रेष्ठले पटकपटक पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई फोन पनि गरिरहन्थे । भण्डारी काँग्रेस निकट प्रेस यूनियनमा आबद्ध पत्रकार हुन् । श्रेष्ठले फेसबुकमा प्रदेश मुख्यमन्त्री, मन्त्रीहरुको तस्वीर पनि पोस्ट्याउँदै आएका छन् । ९ दिनपछि मात्र एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी प्रतिवादमा अघि बढेको हो ।
राजनीति जोडिएको छैनः पत्रकार महासंघ
घटनाबारे पत्रकार महासंघलाई मौखिक जानकारी गराइएको थियो । तर, लिखित निवेदन चाहिने भन्दै महासंघले केही बोलेन । शुक्रबार साँझ पत्रकार अधिकारीले आफूलाई धम्की आएको भन्दै महासंघमा लिखित निवेदन दिए । त्यसपछि शनिबार पत्रकार महासंघ कास्कीले विज्ञप्ती निकाल्यो ।
१० साउनमा प्रहरीकहाँ महासंघ अध्यक्ष भण्डारीसँगै धम्की दिने श्रेष्ठ पनि पुगेका थिए । यही कारण प्रेस चौतारी, कास्की महासंघसँग रूष्ट बनेको हो । पत्रकार महासंघको अध्यक्षसँगै जाने र मुख्यमन्त्रीको मान्छे हुँ भन्दै धम्क्याएपछि प्रहरीले पनि आलटाल गर्यो ।
व्यावसायिक पत्रकार मर्कामा पर्दा महासंघले नेतृत्व गर्न नसकेको पत्रकार अधिकारीको गुनासो छ । ‘आरोपित र गैरपत्रकार घाँटीमा प्रेस कार्ड झुण्डाएर हिँड्दा, धम्की दिँदा महासंघले अभिभावकीय नेतृत्व गर्नुपर्ने हो,’ अधिकारी भन्छन्, ‘त्यो अगुवाई नभएको लाग्यो । भोलि अरू पत्रकारलाई पनि यस्तो पर्न सक्छ । त्यसैले यो विषय यसै सेलाउन दिनु हुँदैन ।’
अध्यक्ष भण्डारी भने आफू कसैको संरक्षणमा नलागेको र यो घटनामा राजनीति नभएको बताउँछिन् । आफूहरू प्रहरी कार्यालयमा जाँदा पीडक भनिएका श्रेष्ठ सँगै आउनु संयोगमात्रै भएको अध्यक्ष भण्डारीको दाबी छ । ‘प्रहरी प्रशासनले ज्यादती गर्यो, राजनीतिक रंग दिन खोजियो भन्ने जुन कुरा हामी सुनिरहेका छौँ,’ अध्यक्ष भण्डारी भन्छिन्, ‘महासंघमा राजनीति, रंग, भेदविभेद हुँदैन । गरेका छैनौँ, गर्दा पनि गर्दैनौँ ।’
आफूहरूको कमजोरी भए सच्याउन तयार रहेकाले तालाबन्दी गर्नुभन्दा पनि छलफलमा बसेर समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ । पीडित पत्रकारसँग घटनापछि सम्पर्कमै रहेको, पीडिकलाई कारबाही माग्दै सडकसँगै सम्बन्धित निकायमा जान पनि महासंघ तयार रहेको भण्डारीले बताइन् ।
‘भोलि यो विषयमा सडकमा जानुपर्ने, सम्बन्धित निकायमा जाँदा महासंघको तर्फबाट कुनै कसर बाँकी रहँदैन,’ उनले भनिन्, ‘हाम्रा सदस्य र सक्रिय पत्रकारिता गरिरहेका साथीहरूको समस्यामा जहिले पनि सँगै उभिने छौँ ।’






















