सल्यान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते


कपुरकोट । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् । दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । राति १० बजेको समयमा प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा इन्ट्री गरेको विवरण अनुसार गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए ।
घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्व पर्दछ ।























