सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु, अर्का एक गम्भीर घाइते

रासस
२०८२ अशोज ११ | बिहान ११:०६ बजे

बरहथवा (सर्लाही), असोज ११। सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।


















