विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान


काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।
सरकारले पहिलो किस्तामा रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ रु ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो । कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथान्चोकले १९६ र रोशी गाउँपालिकाले ले ४६१ र घरपरिवारलाई रु एक करोड ६४ लाख २५ हजार उपलब्ध गराइएको हो ।
गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको सुरुआत गरेका थिए। स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन नसकेको हो ।
उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए ।























