जाँचबुझ आयोगद्वारा क्षतिको विवरण मगाउने निर्णय

रासस
२०८२ अशोज १० | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ, असोज १०। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ ।
जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो । आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी कार्यालयको क्षतिको विवरण गृह मन्त्रालयबाट मगाउने निर्णय गरेको छ । साथै, निजी क्षेत्र, उद्योगधन्दा, व्यक्तिगत सम्पतिमा भएको क्षतिका विषयमा आयोगमा आएर वा इमेलमार्फत बुझाउन सकिने उल्लेख गरेको छ ।
आयोगले क्षतिसम्बन्धी विवरण पुष्ट्याई गर्ने, कागजातरश्रव्यदृश्य सामग्रीलगायत अन्य कुनै प्रमाण भएमा संलग्न गरी आयोगको कार्यालय आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाएको छ । यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यहरुमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी हुनुहुन्छ । यो आयोगको कार्यअवधि तीन महिनाको छ ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छभने धनको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।























