ड्रोन देखिएपछि डेनमार्कमा घण्टौँसम्म हवाई क्षेत्र अवरुद्ध


कोपेनहेगन । पोल्याण्ड र इस्टोनियामा शंकास्पद रुसी ड्रोनहरू देखिएपछि युरोपमा चिन्ता बढेको छ । यसैबिच, सोमबार राति डेनमार्कको राजधानी कोपेनहेगनमा ड्रोन देखिएपछि हलचल मच्चियो । प्रहरी र विमानस्थलका अधिकारीहरूले एक समाचार एजेन्सीलाई बताएअनुसार ड्रोनहरू देखिएपछि १५ भन्दा बढी उडानहरू डाइभर्ट गरिएको थियो । यसैबिच, सोमबार राति नर्वेको ओस्लो विमानस्थल नजिकै ड्रोन देखिने बताइएको छ । यस घटनाका कारण विमानस्थल माथिको सम्पूर्ण हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो ।
अधिकारीहरूका अनुसार, सोमबार डेनिस विमानस्थलमाथि दुई देखि तीन ठुला ड्रोनहरू देखिएका थिए । तिनीहरू कस्तो प्रकारका ड्रोनहरू थिए वा कहाँबाट पठाइएका थिए भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । यद्यपि, ड्रोन कहाँबाट आएको भन्ने पत्ता लागेपछि उडानहरू तुरुन्तै ल्यान्डिङ गराइयो अनि विमानहरूको उडान पनि रद्द गरियो । केही अन्य विमानलाई अन्य विमानस्थलहरूमा डाइभर्ट गरियो ।
नर्वेको राजधानी ओस्लोमा विमानस्थलमाथि शंकास्पद ड्रोन उडेको पनि खबर आएको छ । नर्वेजियन विमानस्थल सञ्चालक एभिनोरका अनुसार, गार्डेमोएन विमानस्थलमाथिको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो । अधिकारीहरूले ड्रोनको स्थान हाल निर्धारण भइरहेको बताएका छन् ।यद्यपि यसलाई कसले चलाएको थियो भन्ने कुरा पहिचान हुन सकेको छैन । यस सम्बन्धमा दुई जनालाई पक्राउ गरिएको छ । यी दुबैसँग मध्य ओस्लोको प्रतिबन्धित सैन्य क्षेत्रमा ड्रोन उडाएको मामिलामा सोधपुछ भइरहेको बताइएको छ ।























