चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

रासस
२०८२ अशोज ७ | मध्यान्ह १२:०६ बजे

चितवन, असोज ७। चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२ वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उहाँले भन्नुभयो, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ ।


















