झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी


भद्रपुर (झापा), असोज ७। बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ ।
उद्योगमा अहिले १८ महिलाले नियमित रोजगार पाउनुभएको छ भने थप १५ जना आंशिक रूपमा संलग्न हुनुहुन्छ । उहाँहरू आ–आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा उद्योगमा काम गर्न आउनुहुन्छ । दक्षताका आधारमा महिलाले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म कमाइ गर्ने गरेका छन् । यसरी घरपरिवार चलाउनेमात्र होइन, आफ्नै श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उहाँहरूले गर्व र खुसी अनुभव गर्ने गरेको तारादेवी बताउनुहुन्छ ।
शीतला झोला उद्योगको उत्पादन अहिले झापा जिल्लामै सीमित छैन । कोशी प्रदेशका अधिकांश पहाडी जिल्लामा मात्र होइन, सुदूरपश्चिमको कञ्चनपुरसम्म झोलाको माग पुग्छ । भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्नका लागि गत असारमा मात्र एक सय १० झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाउनुभयो । कोभिड–१९ का कारण देशभर बन्दाबन्दी भयो त्यही समयमा आफ्नो झोला उद्योगले राम्रो बजार पाएको तारादेवी बताउनुहुन्छ ।
यसका अतिरिक्त उद्योगका झोला बुद्धशान्ति गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरेको छ । त्यसबाहेक सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा पनि झोला पुग्ने गरेको छ । झोला उत्पादनमात्र नभई तारादेवी तालिम दिने काममा पनि सक्रिय हुनुहुन्छ । स्थानीय तह, सामुदायिक संस्थाले माग गरेअनुसार उहाँले महिलालाई झोला सिलाइ तालिम दिनुहुन्छ । यसरी तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा भए पनि झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्
“तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ”, तारादेवीले भन्नुभयो । उहाँले झोला उत्पादन सुरु गर्नुभएको केही वर्षमै यसैबाट भएको नाफाले बुद्धशान्ति–३ प्रगतीटोलमै जग्गा किन्नुभयो र तीनतले घर पनि निर्माण गर्नुभयो । हाल उद्योग सोही घरको भुइँतलामा सञ्चालन भइरहेको छ । उद्योगबाट खर्च कटाएर वार्षिक करिब रु १५ लाख नाफा हुने गरेको उहाँले बताउनुभयो ।
यतिमात्र होइन, आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन तारादेवीले नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि आत्मसात् गर्ने गर्नुभएको छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका साथै स्थानीय मेला हाटबजारमार्फत प्रचारप्रसार गर्दै उहाँले बजार विस्तार गरिरहनुभएको छ । शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रममात्र होइन, यो महिलालाई आत्मनिर्भर र सशक्त बनाउन बनाइएको एक खम्बा हो । यहाँ काम गर्ने महिलाले आफ्नो परिवार चलाउनमात्र होइन, समाजमा आर्थिक रूपमा योगदान गर्न पाउँछन् । धेरै महिलाले उद्योगबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका तारादेवी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “मलाई सबैभन्दा ठूलो सन्तुष्टि महिलालाई सीप सिकाएकामा छ, आत्मबल दिएको छ, आम्दानीको बाटो देखाएको छ ।” तारादेवीको योजना अझ ठूलो छ । आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सृजना गर्ने वातावरण बनाउन उहाँ चाहनुहुन्छ । साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ ।
तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो कथा हो– सङ्घर्षबाट उद्यमिता जन्मिन सक्ने, सीपलाई प्रयोग गरेर समाज परिवर्तन गर्न सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण । झापाको एउटा सानो गाउँबाट सुरु भएको उहाँको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ । तारादेवीको दृढता र लगनशीलताले देखाएको बाटो अरू महिलाका लागि प्रेरणादायी बन्न पुगेको छ ।























