लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै, प्रदेश प्रमुखलाई ध्यानाकर्षण (पत्रसहित)


रुपन्देही । लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हिजो प्रदेश प्रमुख भएर बुटवल आएका शेरचनलाई आज स्वागत गर्न पुगेको विपक्षीहरु दलहरू नेपाली काँग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसदहरू सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको उल्लेख छ ।
यस्तै वैशाख १९ गते सांसद प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको नेपाली काँग्रेस संसदीय दल नेता वीरेन्द्र कनौडियाले बताए ।
उनले संविधानको १६८ ( १) अनुसार तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाए ।प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि संसद् चलिरहेका वेला हतार अन्त्य गरेर अध्यादेशबाट लिएको मुख्यमन्त्रीले गलत काम गरेको बताए ।
प्रदेश प्रमुखले संविधानको र कानुनी मर्म अनुसार प्रक्रिया थाल्नका लागि विपक्षी गठबन्धन दलहरूले अनुरोध गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानैडिया, माओवादी संसदीय नेता कुल प्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका संसदीय दल नेता संहसराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसी सहित विपक्षी दलका प्रदेश सभा सदस्यहरू प्रदेश प्रमुखमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छन् । लुम्बिन प्रदेशमा विपक्षी दलहरू आफूसँग बहुमत रहेको दाबी गरेका छन् ।






















