गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई उच्च मनोबलका साथ परिचालित हुन निर्देशन


काठमाडौँ । गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखापरेका विभिन्न अप्ठ्यारा परिस्थितिमा आइपरेका चुनौतीलाई परास्त गर्दै आएको स्मरण गरे ।
उनले भने, ‘नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगमी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।’
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा तथा सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरुप सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान् रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आएको बताए ।























