गाजामा इजरायली हमला : ९१ जनाको मृत्यु, तेल अभिवमा युद्धविरामको माग


गाजा सिटी। इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् । आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका निर्देशक मोहम्मद अबु साल्मियाको परिवार घरमै मारिएको थियो ।
हमासले यसलाई ‘चिकित्सकहरूलाई सहर छोड्न बाध्य पार्ने आतङ्कवादी सन्देश’ भन्दै निन्दा गरेको छ । अर्को आक्रमणले गाजाको नासर क्षेत्रमा ट्रकमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो ।अल जजिराकी संवाददाता हिन्द खोदारीका अनुसार हजारौँ विस्थापित निरन्तर बमबारी, तोप आक्रमण र ड्रोन आक्रमणबाट भागिरहेका छन् । इजरायली सेनाले विस्फोटक भरिएका रोबोट प्रयोग गरी क्षेत्र ध्वस्त पारिरहेको बताइएको छ । उद्धारकर्ताहरू फसेका घाइतेहरूसम्म पुग्न नसकेको पनि उनले बताए ।
उनीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग सम्झौता गरी बन्दीहरू मुक्त गर्न दबाब दिए । प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि इजरायललाई सम्झौता गर्न दबाब दिन आग्रह गरे ।अल जजिराका पत्रकार हमदाह सलहुतका अनुसार यी प्रदर्शनहरूले इजरायली सरकारलाई अझै असर पारेको छैन । बरु नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले प्रदर्शनलाई इजरायलको शत्रुको पक्षमा काम गरेको भन्दै आलोचना गरेको छ ।
बन्दीका परिवारहरूले भने निरन्तर सैन्य कारबाहीले आफ्ना प्रियजनहरूको जीवन जोखिममा परेको बताएका छन् । हप्तौँदेखि भइरहेका प्रदर्शनहरू ‘पर्याप्त नै पर्याप्त’ भन्ने सन्देश पठाउँदै हाल पश्चिम जेरुसेलममा नेतान्याहुको घरअगाडि समेत पुगेका छन् ।























